INSTITUTE OF ENGINEERING

Pulchowk, Lalitpur

विश्वविद्यालय रूपान्तरणमा नयाँ अपेक्षा: डा. ज्योति तण्डुकार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको सल्लाहकार नियुक्त

विश्वविद्यालय रूपान्तरणमा नयाँ अपेक्षा: डा. ज्योति तण्डुकार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको सल्लाहकार नियुक्त

2026-09-06

 

  डा. ज्योति तण्डुकार

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ् अध्ययन संस्थान (इ.अ.सं.), पुल्चोक क्याम्पसका इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ् विभागका वरिष्ठ सह-प्राध्यापक डा. ज्योति तण्डुकारलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले आफ्नो सल्लाहकारका रूपमा नियुक्त गर्नुभएको छ। पेसाले इलेक्ट्रोनिक्स इन्जिनियर डा. तण्डुकारले स्वदेश र विदेशका शैक्षिक तथा औद्योगिक क्षेत्रमा करिब ३५ वर्षको समृद्ध व्यावसायिक अनुभव हासिल गर्नुभएको छ।

रङ प्रविधिमा विशेषज्ञता र अनुसन्धान उपलब्धि

डा. तण्डुकारले रङ प्रविधि (Color Technology) र कम्प्युटर ग्राफिक्स सफ्टवेयरको क्षेत्रमा गहिरो विशेषज्ञता हासिल गर्नुभएको छ। उहाँले इन्जिनियरिङ् अध्ययन संस्थानबाट "Color Correction Algorithm" विषयमा विद्यावारिधि (PhD) गर्नुभएको हो, जुन अनुसन्धानले रङ पुनर्जनन् (Color Regeneration) र रङ सुधार (Color Improvement) का लागि गतिशील कम्प्युटर प्रविधिमा केन्द्रित नवीन विधिहरू विकास गरेको थियो। यसै क्षेत्रमा उहाँले दुईवटा अन्तर्राष्ट्रिय पेटेन्ट समेत प्राप्त गर्नुभएको छ।

उत्कृष्ट शैक्षिक यात्रा

डा. तण्डुकारको शैक्षिक उपलब्धि विद्यार्थी जीवनदेखि नै उल्लेखनीय रहँदै आएको छ। सन् १९८३ मा एसएलसी परीक्षामा उहाँले राष्ट्रिय स्तरमा बोर्ड पाँचौँ स्थान हासिल गर्नुभएको थियो भने सन् १९९४ मा बेलायतबाट स्नातकोत्तर (MSc) तहमा Lion Laboratories Prize सहित Best Overall Performance को सम्मान प्राप्त गर्नुभएको थियो। यसका अतिरिक्त, उहाँले आफ्नो शैक्षिक तथा व्यावसायिक यात्राभर विभिन्न सम्मान, पुरस्कार र छात्रवृत्तिहरू समेत प्राप्त गर्नुभएको छ।

विद्यार्थीमैत्री नवप्रवर्तनको अभियन्ता

डा. तण्डुकारको प्रमुख रुचि आफ्ना इन्जिनियरिङका विद्यार्थीहरूलाई नवप्रवर्तन गर्न प्रेरित र सक्षम बनाउनु रहेको छ। करिब ३० वर्षअघि नै उहाँले इन्जिनियरिङ् अध्ययन संस्थानमा प्रवेश परीक्षाको नतिजा प्रशोधन तथा उत्तरपुस्तिका जाँच गर्ने कम्प्युटर प्रणालीको सुरुवात गर्नुभएको थियो, जुन त्यसबेलाका लागि अग्रगामी पहल मानिन्छ। इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ् विभागमा उपप्रमुख र त्यसपछि विभागीय प्रमुखका रूपमा कार्यरत रहँदा उहाँको नेतृत्वमा विभागमा महत्त्वपूर्ण र रूपान्तरणकारी परिवर्तनहरू भएका छन्।

नेपाली गलैंचा उद्योगमा योगदान

शैक्षिक जिम्मेवारीका साथसाथै डा. तण्डुकार आफैं पनि अनुप्रयुक्त अनुसन्धान (Applied Research) मा सक्रिय रहँदै आउनुभएको छ। विशेषगरी, उहाँको अनुसन्धान, विकास तथा नवप्रवर्तन (Research, Development and Innovation) मार्फत नेपालको गलैंचा उद्योगको आधुनिकीकरण तथा रूपान्तरणमा उल्लेखनीय योगदान पुगेको छ।

नयाँ जिम्मेवारीसँगै उच्च अपेक्षा

प्रविधिमा विज्ञता, नवप्रवर्तनमा विश्वास, उद्यमशीलतामा सक्रियता र समयसापेक्ष निर्णय क्षमताका लागि परिचित डा. तण्डुकारको यो नयाँ जिम्मेवारीले त्रिभुवन विश्वविद्यालयलाई थप नवप्रवर्तनशील, प्रविधिमैत्री, उद्यमशील तथा प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, त्रिविअन्तर्गतको प्राविधिक संस्थान इ.अ.सं.को पुनःसंरचना प्रक्रियामा पनि उहाँको यो अनुभव र नेतृत्वले उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिइएको छ।