INSTITUTE OF ENGINEERING

Pulchowk, Lalitpur

नेपाली अनुसन्धानकर्ताको 5G नेटवर्कमा महत्त्वपूर्ण अनुसन्धान : मेसिन लर्निङ् र गेम थ्योरी को संयोजनमा आधारित अध्ययन (Publication)

नेपाली अनुसन्धानकर्ताको 5G नेटवर्कमा महत्त्वपूर्ण अनुसन्धान : मेसिन लर्निङ् र गेम थ्योरी को संयोजनमा आधारित अध्ययन (Publication)

2025-08-18

काठमाडौं, वैशाख १८त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानपुलचोक क्याम्पसका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले ५जी नेटवर्कमा रूपान्तरण (माइग्रेसन) योजना बनाउने नयाँ प्रविधिमूलक अध्ययन प्रकाशित गरेका छन्। उनीहरूको अनुसन्धान अमेरिकाको प्रतिष्ठित आइट्रिपलई एक्सेस (IEEE Access) जर्नलमा प्रकाशित भएको , जसमा आधुनिक वायरलेस नेटवर्कको गुणस्तरीय सेवा लाई ध्यानमा राखी ५जी तर्फको सरलीकृत रूपान्तरणको उपाय प्रस्तुत गरिएको छ।

अनुसन्धान टोलीमा इन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पसमा बिई चौथो बर्षमा अध्ययनरत बिद्यार्थी अर्जुन राय मनिष कुमार यादव, सुपरभाइजर उप-प्रा डा. बाबुराम दवाडी र हेल्सिन्की विश्वविद्यालय, फिनल्याण्डका अनुसन्धानकर्ता डा. कृष्ण राज भण्डारी रहेका छन्। यो अनुसन्धानलाई विश्वविद्यालय अनुदान आयोग, नेपाल (अनुदान ID: CRG-078/79-Engg-01) द्वारा सहयोग गरिएको थियो, जसको मुख्य अनुसन्धान डा. बाबुराम दवाडीले गरेका थिए।

वर्तमानमा मोबाइल डाटा र जडान भएका यन्त्रहरूको संख्या तीव्ररूपमा बढ्दो छ। यिनै माग पूरा गर्न अहिलेको ४जी नेटवर्कले पूरै क्षमतामा काम गर्न नसकेपछि ५जीमा जान आवश्यक देखिन्छ। तर, ५जी नेटवर्कमा जान उच्च पूँजीगत खर्च, प्रविधिगत पूर्वाधार, मानव संशाधन र सेवामा अवरोध नआउने सुनिश्चितता जस्ता चुनौती छन्। यही समस्यालाई समाधान गर्न उनीहरूको अनुसन्धानले दुई चरणको नयाँ विधि प्रस्ताव गरेको छ।

पहिलो चरणमा, अनुसन्धानकर्ताहरूले LTE (4G) नेटवर्कको simulation data मा आधारित machine learning मोडेल तयार पारे। यस मोडेलले अहिलेको ४जी बेस स्टेशनहरूको अपग्रेड स्कोर "upgrade score" अनुमान गर्छ, जसको आधारमा कुन बेस स्टेशनलाई पहिलो प्राथमिकतामा ५जी मा रूपान्तरण गर्ने भन्ने निर्णय लिन सजिलो हुन्छ। यसले गूनस्तर मापन जस्तै थ्रुपुत, डिले, जिटर, प्याकेटलस, रिसोर्स फ्याक्टर (throughput, delay, jitter, packet loss, resource factor) आदिमा आधारित विश्लेषण गर्छ।

दोस्रो चरणमा, इभोलुसनरी गेम थ्योरी प्रयोग गरी विभिन्न दूरसञ्चार सेवाप्रदायक बीचको प्रतिस्पर्धात्मक वातावरणमा पाँच वर्षसम्मको संभावित माइग्रेसन प्याट्रन (migration pattern) को सिमुलेसन गरिएको छ। यसमा राजस्व, ग्राहक संख्या (loss/gain/retention), ट्राफिक भोल्युम, कभरेज क्षेत्र, मानव संशाधन र ५जी सेवाको मागजस्ता व्यवहारिक पक्षहरू समेटिएका छन्। यसले दूरसञ्चार सेवाप्रदायकलाई दीर्घकालीन रणनीतिक योजना बनाउन सहयोग पुर्‍याउँछ।

अनुसन्धानकर्ताका अनुसार, “यस अध्ययनले केवल रेडियो एक्सेस नेटवर्क (Radio Access Network) मात्र होइन, कोर नेटवर्कको रूपान्तरण पनि समेट्छ, जुन पहिलेका अनुसन्धानहरूमा छुटेको पक्ष हो।” साथै मेसिन लर्निङ् र गेम थ्योरी को संयोजनमा आधारित यो पहिलो प्रयास हो जसले व्यवहारिक डेटा र प्रतिस्पर्धात्मक रणनीति दुवैको समिश्रणमार्फत दूरसञ्चार सेवा प्रदायकलाई सूचित निर्णय लिन सक्ने बनाउँछ।

यो अनुसन्धानले नेपाल लगायत विश्वभरका दूरसञ्चार सेवा प्रदायकलाई ५जी रूपान्तरणका क्रममा लगानी, समय र स्रोतको प्रभावकारी उपयोगमा मार्गदर्शन गर्ने विश्वास अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन्।

सन्दर्भ
IEEE Access: "Game Theoretic Approach to QoS Oriented Machine Learning Model Development towards 5G Network Migration Planning"

URL: https://doi.org/10.1109/ACCESS.2025.3563096